रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, अझै ३ हजार ९१६ सम्पर्कविहीन
काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीको मानवीय क्षति थप गम्भीर बन्दै गएको छ । बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेका हुन् ।
प्रहरीको विवरणअनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार विपद्मा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । बाढी तथा त्यसपछिको विपद्मा २९२ जना घाइते भएका छन् ।
यसैबीच, सुरक्षा निकायसहितको उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिसकेको प्राधिकरणले जनाएको छ ।