महाकालीको बहाव अझै खतराको तहमा, शारदा ब्यारेजमा चारपांग्रे सवारी रोक – Nepalboli

महाकालीको बहाव अझै खतराको तहमा, शारदा ब्यारेजमा चारपांग्रे सवारी रोक

   २०८३ भाद्र १७, बुधबार  

कञ्चनपुर— महाकाली नदीमा पानीको बहाव खतराको तहभन्दा माथि रहेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा लगाइएको रोक बुधबार पनि कायमै छ ।

प्रहरीका अनुसार मंगलबार महाकालीमा पानीको बहाव २ लाख ९७ हजार क्युसेक पुगेपछि बिहानदेखि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । पानीको सतह क्रमशः घटिरहेको भए पनि अझै खतराको तहभन्दा तल नझरेकाले रोक कायम राखिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार बिहान महाकालीमा पानीको बहाव घटेर २ लाख ५५ हजार २८४ क्युसेक पुगेको छ ।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको प्रहरीले जनाएको छ ।

हाल नदीको बहाव घट्दो क्रममा रहेकाले पहाडी क्षेत्रमा थप वर्षा नभएमा बुधबार दिउँसोसम्म ब्यारेज पूर्ण रूपमा सञ्चालनमा आउन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

महाकालीको बहाव र मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै