ठूला नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाडौं— देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाका कारण ठूला नदी तथा खोलानालामा पानीको बहाव बढेको छ । सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतह सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा यी तीनवटै नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।
सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ । यहाँ ७.५ मिटरलाई सतर्कता तह मानिन्छ । हाल सुनकोशीको जलसतह स्थिर अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ। आरुघाटमा ३.५ मिटर सतर्कता तह हो । बुढीगण्डकीको जलसतह भने विस्तारै घट्ने क्रममा रहेको छ ।
डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा पनि जलसतह ६.३७ मिटर पुगेको छ । यहाँको सतर्कता तह ५.८ मिटर हो । महाकालीमा पानीको बहाव अहिले स्थिर रहेको महाशाखाले जनाएको छ ।
नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा रहेका बस्ती तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले नदीको बहाव र जलसतहमा हुने परिवर्तनबारे निरन्तर निगरानी गर्न तथा आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।