बाढी प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ पठाइने
काठमाडौं—बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा तत्कालीन पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टका अनुसार मंगलबार बसेको कोषको बैठकले गृहसचिवको नेतृत्वमा रकम परिचालन हुने गरी १ अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ अनुसार विपद् व्यवस्थापन कोष गृहसचिवले व्यवस्थापन गर्ने व्यवस्था छ ।
कोषका लागि एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको मौज्दातबाट उक्त रकम निकासा गरिएको हो ।
निकासा भएको रकम बाढी प्रभावित क्षेत्रमा आवश्यकता र मागका आधारमा परिचालन गरिनेछ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उद्धार तथा राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माणलगायतका काममा रकम खर्च गर्न सकिनेछ ।
बाढी प्रभावित स्थानीय तह वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकता र क्षतिको आधारमा रकम माग गर्न सक्नेछन् । प्राप्त मागका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्ने व्यवस्था गरिएको छ ।