विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रास्वपाको पहल, आज दोस्रो तहका नेताबीच छलफल – Nepalboli

विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रास्वपाको पहल, आज दोस्रो तहका नेताबीच छलफल

   २०८३ भाद्र १६, मंगलवार  

काठमाडौं— भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनलाई तत्कालीन उद्धार र राहतमा मात्र सीमित नराखी दीर्घकालीन पुनर्निर्माण तथा जोखिम न्यूनीकरणको साझा रणनीति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनको पहल थालेको छ । संयन्त्र गठनबारे छलफल गर्न रास्वपाले आज विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू तथा सरोकारवालालाई सिंहदरबारमा बोलाएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, पूर्वतयारी र दिगो समाधानका विषयमा १० बुँदे साझा संकल्प पारित गरेको थियो ।

सोही संकल्पको बुँदा नम्बर १० कार्यान्वयन गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कामलाई तत्कालीन राहत तथा प्रतिक्रियामा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्ने उद्देश्यले संयन्त्र गठन गर्न लागिएको रास्वपाले जनाएको छ ।

प्रस्तावित संयन्त्रले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार तथा सरकारका कामकारबाहीमा निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्नेछ ।

संयन्त्र गठनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको उपस्थिति रहनेछ ।

रास्वपाका प्रवक्ता खरेलको हस्ताक्षरसहित जारी निमन्त्रणापत्रमा सम्बन्धित राजनीतिक दल तथा सरोकारवालालाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै