सगुन र फागसँगै सुरु भयो गौरा पर्व, आज बिरुडा भिजाइँदै
धनगढी— सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पहिचानसँग जोडिएको गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन भाद्र शुक्ल पञ्चमीका अवसरमा घरघरमा बिरुडा भिजाएर गौरा पर्वको सुरुआत गरिँदैछ ।
गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । यस दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी—मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गर्ने परम्परा छ ।
परम्पराअनुसार तामाको भाँडोलाई गोबरले लिपेर दुबो र अक्षताले सिँगारिन्छ । त्यसपछि उक्त भाँडामा पञ्च अन्न तथा गेडागुडी भिजाइन्छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ भने गौरा देवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ ।
बिरुडा भिजाउने क्रममा महिलाहरूले डोटेली भाषामा सगुन तथा फाग गाउने गर्छन् । यस अवसरमा गाइने फागमा गौरा पर्वको धार्मिक तथा सांस्कृतिक कथासमेत प्रस्तुत हुने गर्दछ ।
फागमा गौरा र महादेवबीचको संवाद तथा बिरुडाका लागि आवश्यक अन्न तथा गेडागुडी जुटाउन महादेव नगरतर्फ गएको प्रसङ्ग प्रस्तुत गरिन्छ । यसले गौरा पर्वसँग जोडिएको स्थानीय मौलिक लोककथा र सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्दै आएको छ ।
गौरा पर्वमा महिलाहरूले दुबधागो धारण गर्ने परम्परासमेत छ । यो महिलाहरूका लागि पुरुषको व्रतबन्धसँग मिल्दोजुल्दो धार्मिक तथा सांस्कृतिक अनुष्ठानका रूपमा समेत लिइन्छ ।
बिरुडा पञ्चमीका दिन भिजाइएको बिरुडा षष्ठीका दिन पखाल्ने चलन छ । त्यसपछि गौरा पर्वका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि अघि बढ्छन् ।
सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्वमा महिलाहरूले व्रत बस्ने, गौरा देवीको पूजा गर्ने, देउडा खेल्ने तथा परम्परागत फाग र सगुन गाउने गर्छन् । पर्वले सुदूरपश्चिमको मौलिक संस्कृति, लोककथा, गीत–संगीत र सामाजिक सम्बन्धलाई जीवन्त राख्दै आएको छ ।