त्रिशूली–बेत्रावती सडक मर्मत तीव्र, नदीको धार परिवर्तनले थप्यो चुनौती
काठमाडौं— बाढीले सडक नै बगाएर त्रिशूली नदीको धार परिवर्तन गरिदिएपछि रसुवागढी जोड्ने त्रिशूली–बेत्रावती सडक मर्मतमा चुनौती थपिएको छ । सडक विभागले क्षतिग्रस्त सडकखण्डमा नयाँ ट्रयाक खोल्ने तयारीसहित मर्मत कार्यलाई तीव्रता दिएको छ ।
सडक विभागको योजना महाशाखा प्रमुख शुभराज न्यौपानेका अनुसार मर्मत टोलीले बिहान साढे ६ बजेदेखि सूर्यास्तसम्म निरन्तर काम गरिरहेको छ । परिचालन गरिएका मेसिनहरू तिर्तिरे भीर पार गरिसकेका छन् भने अब बेत्रावती पुग्न करिब ३ किलोमिटर सडकखण्ड मात्रै बाँकी छ ।
तर बेत्रावती नजिकैको करिब ५०० मिटर सडकखण्ड त्रिशूली नदीले पूर्ण रूपमा कटान गरी बगाएपछि उक्त क्षेत्रमा सडक पुनः सञ्चालन गर्न कठिनाइ देखिएको छ ।
बाढीपछि नदीको बहाव यति परिवर्तन भएको छ कि यसले पुरानै सडक रहेको स्थानबाट धार बनाएर बगिरहेको न्यौपानेले बताए ।
त्यस क्षेत्रमा सडक निर्माणका लागि विभागले वैकल्पिक योजनासहित ब्रेकरलगायतका मेसिन परिचालन गरेको छ । आवश्यक परे चट्टान फुटाउन ब्लास्टिङसमेत गर्ने तयारी गरिएको छ ।
विभागले बाँकी सडकखण्डमा कामलाई थप तीव्रता दिँदै सकेसम्म छिटो बेत्रावतीसम्म सडक पहुँच पुनःस्थापित गर्ने लक्ष्य राखेको छ ।
रसुवागढी नाकातर्फको आवागमनका लागि महत्वपूर्ण मानिने यो सडकखण्ड पछिल्लो बाढीबाट ठूलो क्षति पुगेपछि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । सडक पुनःस्थापनालाई प्राथमिकतामा राखेर विभागले क्षतिको प्रकृति र नदीको बदलिएको बहावअनुसार निर्माण विधि तय गरिरहेको जनाएको छ ।