एसिया कपको लक्ष्यसहित नेपालले बहराइनविरुद्ध सुरु गर्‍यो प्रिमियर कपको यात्रा – Nepalboli

एसिया कपको लक्ष्यसहित नेपालले बहराइनविरुद्ध सुरु गर्‍यो प्रिमियर कपको यात्रा

   २०८३ भाद्र १५, सोमबार  

काठमाडौं— एसिया कपमा दोस्रोपटक स्थान बनाउने लक्ष्यसहित नेपालले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवातको प्रयास थालेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

बहराइनले ब्याटिङ सुरु गरिसकेको छ भने नेपालले एक विकेट हात पारिसकेको छ ।

प्रतियोगिताको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ । नेपाल यसपटक सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ । यसअघि एकदिवसीय टोलीको नेतृत्व गर्दै आएका रोहित पौडेलको स्थानमा सन्दीपले कप्तानी सम्हालेका हुन् ।

नेपालले प्रतियोगिताअघि भारतमा करिब डेढ साता अभ्याससमेत गरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले बहराइनसँगै साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सन् २०२३ मा नेपालमै भएको प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले पहिलोपटक उपाधि जितेको थियो । त्यससँगै नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको थियो ।

यसपटक पनि उपाधि जित्दै एसिया कपमा लगातार दोस्रोपटक स्थान बनाउने लक्ष्यमा नेपाली टोली रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै