कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने – Nepalboli

कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने

   २०८३ भाद्र १४, आईतवार  

काठमाडौं — नेपाली कांग्रेसले बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आज बसेको बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकले बाढी प्रभावित क्षेत्रमा सरकारले राहत तथा उद्धारका कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिएको छ । विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रयासलाई तीव्र बनाउनुपर्ने कांग्रेसको भनाइ छ ।

प्रवक्ता महतले खोज तथा उद्धार कार्य परिणाममा केन्द्रित हुनुपर्ने बताउँदै नेपालकै क्षमताले नपुग्ने अवस्था आए अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको सहयोग लिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले पीडितलाई राहत वितरण प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिँदै प्रभावित नागरिकसम्म तत्काल राहत पुर्‍याउन सरकारसँग आग्रह गर्नुभयो ।

बाढीका कारण रसुवा र नुवाकोट पुगेका अन्य जिल्लाका नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै कांग्रेसले उनीहरूको खोजी तथा सुरक्षामा समेत विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।    कांग्रेस,प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै