भोटेकोशी बाढीबाट ९३ हजार प्रभावित भएको रेडक्रसको अनुमान – Nepalboli

भोटेकोशी बाढीबाट ९३ हजार प्रभावित भएको रेडक्रसको अनुमान

   २०८३ भाद्र १२, शुक्रबार  

काठमाडौं — भोटेकोशीमा आएको भीषण बाढीबाट करिब ९३ हजार मानिस प्रत्यक्ष प्रभावित भएको इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रेसेन्ट सोसाइटीज (आइएफआरसी)ले अनुमान गरेको छ ।

आइएफआरसीको नेपाल प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको विपद्बाट ठूलो संख्यामा मानिस प्रभावित भएको र प्रारम्भिक अनुमानमा करिब ९३ हजार मानिस प्रभावित रहेको बताएका हुन् ।

बाढी प्रभावित क्षेत्रमा थप विपद्को जोखिम कायमै रहेको भन्दै आइएफआरसीले दोस्रो बाढी आउन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेको छ । फिसरलाई उद्धृत गर्दै बीबीसीले दोस्रो बाढीको सम्भावनालाई लिएर संस्था निकै चिन्तित रहेको जनाएको छ ।

विपद्मा परेका नागरिकलाई तत्काल जीवनरक्षात्मक सहायता उपलब्ध गराउन आइएफआरसीले २५ मिलियन स्विस फ्र्यांक (करिब ४ अर्ब रुपैयाँ) बराबरको आपत्कालीन अपिल जारी गरेको छ ।

आइएफआरसीले प्रभावित क्षेत्रमा आवश्यक मानवीय सहायता पुर्‍याउन आफ्नो विश्वव्यापी सञ्जाल परिचालन गरिसकेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै