रसुवा बाढीः विद्युत् प्राधिकरणका आयोजनामा कार्यरत १९६ जना सम्पर्कविहीन – Nepalboli

रसुवा बाढीः विद्युत् प्राधिकरणका आयोजनामा कार्यरत १९६ जना सम्पर्कविहीन

   २०८३ भाद्र ११, बिहीबार  

काठमाडौं— रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जना सम्पर्कविहीन भएका छन् । निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजना र सबस्टेसनमा कार्यरत कर्मचारी तथा कामदारको अवस्था अझै यकिन हुन सकेको छैन ।

प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका २१ जना कर्मचारी सम्पर्कमा छैनन् । त्यस्तै, चिलिमे पावर प्लान्टका ६ र आवास क्षेत्रका एक कर्मचारी पनि सम्पर्कविहीन छन् ।

चिलिमे जलविद्युत् कम्पनीबाट त्रिशूली–३ ‘बी’मा कार्यरत ११ जना, रसुवागढी जलविद्युत् आयोजनाका ९२ जना तथा त्रिशूली–३ ‘ए’को पावरहाउसमा कार्यरत ४५ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

यसैगरी, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा कार्यरत एक–एक जना, चिलिमे स्विचयार्डका एक कर्मचारी र सोही वितरण केन्द्रका एक मिटर रिडरको समेत सम्पर्क हुन सकेको छैन ।

त्रिशूली २२० केभी ३ ‘बी’ हब सबस्टेसनमा कार्यरत ठेकेदारका १६ जना कामदार पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, निजी क्षेत्रबाट निर्माण अघि बढाइएका जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारसमेत बाढीपछि सम्पर्कविहीन भएका छन् ।

२१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत आठ कोरियन नागरिक र १० जना नेपाली कर्मचारी८८ सम्पर्कमा छैनन् । यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका २५ कर्मचारी र ३५ कामदार पनि सम्पर्कविहीन रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क अवरुद्ध भएकाले सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ । सुरक्षा निकाय तथा सम्बन्धित आयोजनाहरूले खोजी तथा उद्धारको प्रयास जारी राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै