प्रतिनिधिसभाको बैठक बुधबारसम्म सर्यो, प्रधानमन्त्री बालेनले जवाफ दिने
काठमाडौं — प्रतिनिधिसभाको मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले मंगलबार जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको उल्लेख छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम यसअघि नै तय भइसकेको छ ।
प्रतिपक्षी दलका सांसदहरूले लामो समयदेखि प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित भएर समसामयिक विषयमा जवाफ दिन माग गर्दै आएका छन् । प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद्मा पटक–पटक अवरोधसमेत हुँदै आएको थियो ।
लगातारको दबाबपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई भदौ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्नोत्तरमा सहभागी हुन निर्देशन दिएका थिए ।
बुधबारको बैठकमा प्रधानमन्त्रीको जवाफसँगै संसद्मा पछिल्लो समय देखिएको गतिरोध र राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।