तमिलनाडुका मुख्यमन्त्री विजयको घोषणा– महिलालाई वर्षमा तीन ग्यास सिलिन्डर निःशुल्क
काठमाडौँ— चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेर तमिलनाडुको मुख्यमन्त्री बनेका अभिनेता सी. जोसेफ विजय (विजय थालापति)ले महिलाको नेतृत्व रहेका परिवारलाई वर्षमा तीनवटा खाना पकाउने ग्यास सिलिन्डर निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
सोमबार सार्वजनिक गरिएको घोषणाअनुसार यो योजनाबाट तमिलनाडुका करिब १ करोड ३० लाख परिवार लाभान्वित हुनेछन् । योजनाका लागि राज्य सरकारको कोषबाट वार्षिक करिब ४ हजार करोड भारतीय रुपैयाँ खर्च हुने बताइएको छ ।
विजय सरकारले निःशुल्क ग्यास सिलिन्डरसँगै महिलाका लागि निःशुल्क बस यात्राको सुविधासमेत घोषणा गरेको छ । द इन्डियन एक्सप्रेसका अनुसार आगामी २ अक्टोबर, महात्मा गान्धीको जन्मजयन्तीदेखि महिलालाई निःशुल्क बस सेवा उपलब्ध गराइनेछ । यस्तै, तीनवटा निःशुल्क ग्यास सिलिन्डर वितरण आगामी जनवरीदेखि सुरु गर्ने सरकारको तयारी छ ।
तमिलनाडुमा विजय नेतृत्वको सरकार गठन भएको चार महिना भएको छ । यस अवधिमा सरकारले बिजुली, सार्वजनिक यातायात र खाना पकाउने ग्यासलगायतका क्षेत्रमा छुट तथा राहतका कार्यक्रम अघि सारेको छ ।
पूर्वअभिनेता विजयले आर्थिक रूपमा विपन्न तथा न्यून आय भएका परिवारलाई लक्षित गर्दै विभिन्न राहत प्याकेज अघि सारेका छन् । उनको सरकारले ल्याएका जनमुखी कार्यक्रमले आम नागरिकबीच लोकप्रियता बढाइरहेको दाबी गरिएको छ ।