प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा – Nepalboli

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा

   २०८३ भाद्र ९, मंगलवार  

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाइएको छ ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीलाई कालो चस्मा आवश्यक पर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको पुष्टि गरेका छन् ।

यसअघि सभामुख डोलप्रसाद अर्याल ‘डीपी’ले प्रधानमन्त्रीले संसद्मा कालो चस्मा लगाएर उपस्थित हुने भए त्यसको स्वास्थ्यसम्बन्धी कारण खुल्ने रिपोर्ट आवश्यक पर्ने बताएका थिए। उनले प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई समेत यसबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री बालेन बुधबार प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् । उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् ।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ । नियमअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न गर्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था छ ।

यस्तै, नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ । नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि प्रश्नको विषय लिखित रूपमा सभामुखलाई जानकारी गराउनुपर्नेछ ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । निर्धारित समयभित्र ११ जना सांसदले प्रश्न दर्ता गराएका छन् ।

प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि संसद्मा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै