हर्मुज जलमार्ग हुँदै जाने विदेशी जहाजबाट सेवा शुल्क उठाउने इरानी संसद्को निर्णय – Nepalboli

हर्मुज जलमार्ग हुँदै जाने विदेशी जहाजबाट सेवा शुल्क उठाउने इरानी संसद्को निर्णय

   २०८३ भाद्र ८, सोमबार  

एजेन्सी— इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने विदेशी जहाजबाट विभिन्न सेवा शुल्क उठाउने कानुनी व्यवस्था अघि बढाएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले सम्बन्धित विधेयकको धारा ३ अनुमोदन गरेसँगै यस्तो व्यवस्था अघि बढेको हो ।

‘हर्मुज जलमार्गको सुरक्षा र प्रगति सुनिश्चित गर्ने रणनीतिक कार्य’सम्बन्धी विधेयकअन्तर्गत हर्मुज हुँदै आवतजावत गर्न अनुमति पाएका विदेशी जहाजले इरानलाई सेवा शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको अलजजिराले जनाएको छ ।

इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार समितिका प्रवक्ता हसन काश्काभीले जलमार्गमा उपलब्ध गराइने विभिन्न सेवाबापत शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् ।

नयाँ व्यवस्थाअनुसार जहाजले सामुद्रिक सुरक्षा, वातावरणीय संरक्षण, विशेष परिस्थितिमा इन्धन भर्ने सेवा, बिमा, सुरक्षा व्यवस्थापन तथा इरानले उपलब्ध गराउने अन्य सेवाबापत शुल्क तिर्नुपर्नेछ । शुल्क इरानी रियाल वा तेहरानले तोकेको विदेशी मुद्रामा बुझाउन सकिने व्यवस्था गरिएको छ ।

इरानले सन् १९८२ को समुद्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि तथा त्यसपछि ओमानले जारी गरेको राजनीतिक घोषणालाई आधार बनाउँदै हर्मुज जलमार्गको प्रयोगले तटीय राष्ट्रको राष्ट्रिय सम्प्रभुता र सुरक्षामा असर पार्न नहुने धारणा दोहोर्‍याएको छ ।

संसदीय समितिले विधेयक तयार पार्दा हर्मुज जलमार्गसँग जोडिएका तटीय राष्ट्रहरूको अधिकारलाई समेत ध्यानमा राखिएको दाबी गरेको छ ।

अमेरिका र इरानबीच आर्थिक तथा सैन्य तनाव बढिरहेका बेला आएको यो निर्णयलाई हर्मुज जलमार्गमा आफ्नो सुरक्षा, व्यवस्थापन र निगरानी थप मजबुत बनाउने इरानको प्रयासका रूपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै