क्यान्सर उपचारमा नयाँ आशा बिरामीकै ट्युमर हेरेर बनाइएको एमआरएनए खोप सफल
काठमाडौं— क्यान्सर उपचारमा व्यक्तिगत (पर्सनलाइज्ड) एमआरएनए खोपले महत्वपूर्ण सफलता हासिल गरेको छ । अमेरिकी औषधि कम्पनी मोडेर्ना र मर्क ले विकास गरिरहेको प्रयोगात्मक खोपले छालाको घातक क्यान्सर मेलानोमा पुनः देखिने तथा शरीरमा फैलिने जोखिम घटाएको पछिल्लो चरणको क्लिनिकल परीक्षणले देखाएको हो ।
‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप प्रत्येक बिरामीको ट्युमरमा भएका आनुवंशिक परिवर्तनको विश्लेषण गरेर छुट्टाछुट्टै तयार गरिन्छ । परीक्षणमा १,१३७ जना उच्च जोखिमका मेलानोमा बिरामी सहभागी थिए । किट्रुडा औषधिसँग खोप प्रयोग गर्दा किट्रुडा मात्र दिइएको उपचारभन्दा राम्रो नतिजा प्राप्त भएको कम्पनीहरूले जनाएका छन् ।
कम्पनीका अनुसार नियामक स्वीकृति पाएमा शल्यक्रियापछि पुनः क्यान्सर हुने जोखिम भएका बिरामीले आगामी वर्षदेखि यो उपचार पाउन सक्ने सम्भावना छ । यद्यपि विस्तृत तथ्यांक, मूल्य निर्धारण र दीर्घकालीन प्रभावकारिताबारे अध्ययन अझै सार्वजनिक हुन बाँकी छ ।
वैज्ञानिकहरूले यसलाई क्यान्सर उपचारमा एमआरएनए प्रविधिको सम्भावित नयाँ युगतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।