१३ दिनको मधुश्रावणी आज समापन, नवविवाहित मिथिलानीले गरे दाम्पत्य सुखको कामना – Nepalboli

१३ दिनको मधुश्रावणी आज समापन, नवविवाहित मिथिलानीले गरे दाम्पत्य सुखको कामना

   २०८३ श्रावण ३०, शनिबार  

काठमाडौं — मिथिला संस्कृतिको दाम्पत्य प्रेम र पारिवारिक सद्भावसँग जोडिएको १३ दिने ‘मधुश्रावणी पर्व’ आज समापन हुँदैछ । साउन कृष्ण पञ्चमीदेखि व्रत बसेका नवविवाहित मिथिलानीहरूले शिव, गौरी र विषहराको विशेष पूजा गर्दै पति–पत्नीबीच अटल प्रेम, सौभाग्य र सुखी वैवाहिक जीवनको कामना गर्नेछन् ।

मैथिल परम्पराअनुसार विवाह भएको पहिलो वर्ष नवविवाहिताले यो पर्व माइतीघरमा मनाउने चलन छ। पतिले पठाएको पूजा सामग्री, नयाँ वस्त्र, आभूषण र खाद्य सामग्रीबाट व्रत विधान सम्पन्न गरिन्छ । साउन शुक्ल तृतीयाका दिन पूजा, कथा श्रवण र पूजित बेलपत्र तथा फूल पवित्र नदी वा तलाउमा विसर्जन गरेसँगै पर्व समापन हुन्छ ।

पर्वको विशेष आकर्षण ‘फूललोढी’ हो, जहाँ नवविवाहिताहरू सखीसहेलीसँग सामूहिक रूपमा फूल सङ्कलन गर्दै प्रणयभावका लोकगीत गाउँछन् । प्रत्येक दिन सङ्कलन गरिएका फूल र बेलपत्र बासी राखेर भोलिपल्ट शिव, गौरी र विषहरालाई चढाउने परम्परा रहेको छ ।

परम्परागत रूपमा १२औँ दिन राति देब्रे घुँडामा ‘टेमी’ लिएर प्रेम सम्बन्धको प्रतीकात्मक परीक्षा गर्ने चलन थियो । तर पछिल्ला वर्षहरूमा नयाँ पुस्ताले शरीर डाम्ने अभ्यास छाडेर त्यसको स्थानमा शीतल चन्दनको लेप लगाउन थालेका छन्। संस्कृतिविद्हरूले यसलाई परम्पराको मूल भावना जोगाउँदै मानवीय र परिष्कृत अभ्यासका रूपमा व्याख्या गरेका छन् ।

शिव–पार्वती र नागदेवता विषहरासँग सम्बन्धित पौराणिक कथा, सामूहिक गायन र सखीबीचको आत्मीय भेटघाटले यो पर्वलाई मिथिला समाजको विशिष्ट सांस्कृतिक उत्सव बनाउछ ।

पहिले ब्राह्मण, कायस्थ, देव र सोनार समुदायमा सीमित रहेको मधुश्रावणी पछिल्ला वर्षहरूमा मिथिलाको साझा सांस्कृतिक पर्वका रूपमा विस्तार हुँदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै