वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्ति लोकपथमा राति सवारी रोक – Nepalboli

वर्षाले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्ति लोकपथमा राति सवारी रोक

   २०८३ श्रावण ३०, शनिबार  

काठमाडौं — लगातारको वर्षाले देशका विभिन्न जिल्लामा बाढी र पहिरोको जोखिम बढेपछि प्रमुख राजमार्गसहित आधा दर्जनभन्दा बढी सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमनमा समयसीमा लागू गरिएको छ।

प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ६:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन हुनेछ।

यस्तै, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवाली मा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङ मा सडक भासिँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, रसुवाको उत्तरगया–५ खाल्टे मा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ।

पश्चिमतर्फ रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्ड खोला नजिक पहिरोले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक बन्द भएको छ भने रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र धौलापहिरा मा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, रोल्पाको थबाङ गाउँपालिका–२ अन्तर्गत लाप्लेभिर र दबाङ क्षेत्रमा भू–स्खलन हुँदा घोराही–थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभाग, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय भइरहेको छ। यात्रुहरूलाई यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै