युवा नेतृत्व असफल भए अर्को आँधी आउन सक्छ : रवि लामिछाने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान युवा नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसके देशमा फेरि अर्को ठूलो राजनीतिक उथलपुथल आउन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकार सफल हुनु अपरिहार्य रहेको बताए । उनले युवा नेतृत्वलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
लामिछानेले विगतको आन्दोलनले राजनीतिक परिवर्तनको बाटो खोलेको उल्लेख गर्दै अब त्यसबाट सिर्जित अपेक्षालाई परिणाममा बदल्नुपर्ने बताए । युवा नेतृत्व असफल भए त्यसको असर केवल वर्तमान पुस्तामा सीमित नरहने उनको भनाइ थियो ।
उनले भने, “युवा नेतृत्व सफल हुनुपर्छ ।” आन्दोलनले ल्याएको परिवर्तनपछि त्यसले निर्माण गर्ने नयाँ परिणाम हेर्न जनता पर्खिरहेको उनको दाबी थियो ।
लामिछानेले युवाको नेतृत्वमाथि प्रश्न उठ्ने अवस्था आए भविष्यमा ‘युवा नेतृत्व असक्षम हुन्छ’ भन्ने नकारात्मक भाष्य स्थापित हुन सक्ने चेतावनीसमेत दिए । यस्तो भाष्य भविष्यका पुस्ताका लागि घातक हुने उनको भनाइ थियो ।
उनका अनुसार नेतृत्वका लागि उमेर मात्र पर्याप्त हुँदैन । जोससँगै होस, अनुभव, ज्ञान र सीप पनि आवश्यक हुन्छ। युवाले अग्रजको अनुभव र सम्मानलाई आत्मसात् गर्दै प्राप्त राजनीतिक उपलब्धिलाई परिणाममा बदल्न सक्ने क्षमता व्यवहारबाटै प्रमाणित गर्नुपर्ने उनले बताए ।
“युवा भनेर मात्रै हुँदैन, परिपक्वता पनि चाहिन्छ। अनुभव पनि चाहिन्छ,” लामिछानेले भने, “युवामा जोस र होस दुवै हुन्छ । आजका युवा सक्षम छन्, देशलाई माया गर्छन् र परिवर्तनकामी छन् भन्ने कुरा अब हाम्रो कर्मबाट प्रमाणित गर्नुपर्छ ।”
उनले वर्तमान परिवर्तनको रक्षा गर्दै त्यसलाई उपलब्धिमा रूपान्तरण गर्ने जिम्मेवारी युवा नेतृत्वको काँधमा रहेको बताए ।