कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशन तयारीदेखि राजनीतिक परिस्थितिसम्म छलफल हुने
काठमाडौँ— नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको तयारीलाई गति दिने विषयसहित समसामयिक राजनीतिक मुद्दामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दैछ ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आइतबार सुरु भएको छलफललाई निरन्तरता दिइने कांग्रेसले जनाएको छ । आइतबारको बैठकमा प्रस्तावित एजेन्डामध्ये सबै विषयमा छलफल पूरा नभएपछि बैठक सोमबारका लागि पुनः बोलाइएको हो ।
आइतबारको बैठकमा पार्टी सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषय तथा बैठकमा छलफलका लागि प्रस्तावित विषयवस्तुबारे जानकारी गराएका थिए। महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत गर्दै पार्टीको आगामी कार्यदिशा र संगठनात्मक तयारीका विषय छलफलका लागि अघि सारेका थिए ।
बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको छ। महाधिवेशनसँग सम्बन्धित नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल भइरहेको छ ।
त्यस्तै, महाधिवेशन व्यवस्थापनका लागि प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गर्ने विषय पनि बैठकको एजेन्डामा छन् ।
बैठकमा सरकारका गतिविधि तथा प्रदेश सरकारमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे समेत छलफल हुने बताइएको छ । साथै, केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ ।
आइतबारदेखि सुरु भएको छलफल सोमबार थप विस्तृत हुने भएकाले बैठकबाट महाधिवेशन तयारी तथा पार्टीको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय हुनसक्ने कांग्रेस नेताहरूले बताएका छन् ।