थाइल्यान्डमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु, हतियार नियन्त्रणमा कडाइ गर्ने प्रधानमन्त्रीको घोषणा
बैंकक— थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय किशोरले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार किशोरले शुक्रबार बिहान करिब ५ बजे आफू बस्दै आएको घरमा ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हानेका थिए । त्यसपछि उनी हजुरबुबाको बन्दुक र दर्जनौँ गोली बोकेर विद्यालय पुगेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार किशोर बिहान करिब ८ः३० बजे देब्सिरिन विद्यालयको पहिलो कक्षामा सहभागी भएका थिए । दोस्रो कक्षा बिहान ९ः२० बजे सुरु भएको केही समयपछि उनले बन्दुक निकालेर गोली चलाउन थालेका थिए ।
प्रहरीका अनुसार उनले विद्यालयको छैटौँ तलामा रहेका शिक्षकहरूमाथि गोली प्रहार गरेका थिए । घटनामा तीन शिक्षकको मृत्यु भएको थियो । त्यसपछि भर्याङबाट तल झर्दै गर्दा भेटिएका थप दुई जनालाई पनि गोली हानी हत्या गरिएको प्रहरी अधिकारीले बताएका छन् । गोली लागेर घाइते भएका एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
गोली चलेपछि प्रहरीले विद्यालयमा पुगेर खोजी अभियान चलाएको थियो । बिहान करिब १०ः४० बजे किशोरलाई आफैंलाई गोली हानेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा प्रयोग भएको बन्दुक किशोरका हजुरबुबाको थियो । स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त बन्दुक कानुनी रूपमा दर्ता भएको र त्यसका लागि अनुमति लिइएको थियो ।
सार्वजनिक स्थानमा बन्दुक बोक्न थप कडाइ गर्ने घोषणा
घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले हतियार नियन्त्रणसम्बन्धी कानुन थप कडा बनाउने घोषणा गरेका छन् ।
बीबीसीका अनुसार प्रधानमन्त्री अनुतिनले सार्वजनिक स्थानमा बन्दुक बोकेर हिँड्न प्रतिबन्ध लगाउने गरी नयाँ कानुनी व्यवस्था ल्याउने बताएका छन्। प्रस्तावित व्यवस्थाअनुसार ड्युटीमा रहेका सरकारी अधिकारीले मात्र सार्वजनिक स्थानमा हतियार बोक्न पाउनेछन् ।
थाइल्यान्डमा बन्दुक राख्नेसम्बन्धी कानुनी व्यवस्था कडा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहँदै आएको छ।