होर्मुज खुलाउने प्रयासमा कूटनीतिक सक्रियता, इरान–ओमान वार्ता सकारात्मक; तेलको मूल्य घट्यो – Nepalboli

होर्मुज खुलाउने प्रयासमा कूटनीतिक सक्रियता, इरान–ओमान वार्ता सकारात्मक; तेलको मूल्य घट्यो

   २०८३ श्रावण २०, बुधबार  

काठमाडौं — इरान र ओमानबीच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत दुवै पक्षले दिएका छन् । यससँगै मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा बढेको छ । यद्यपि, यमननजिकैको रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै कायम रहेको देखाएको छ ।

इरानले ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्तामा प्रगति भएको बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत सम्झौता ‘आज वा भोलि’ नै हुनसक्ने सम्भावना औँल्याएका छन् ।

होर्मुज पुनः सञ्चालन हुनसक्ने सम्भावनासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारले तत्काल सकारात्मक प्रतिक्रिया दिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरभन्दा तल झरेको छ। युद्ध उत्कर्षमा पुगेका बेला यही मूल्य १०० डलरभन्दा माथि पुगेको थियो।

तेलको मूल्य घटेसँगै पेट्रोलियम पदार्थ, विद्युत् उत्पादन तथा ढुवानी लागतमा राहत पुग्ने अपेक्षा गरिएको छ। यसको प्रभाव विश्वभर इन्धनको मूल्यसँगै वस्तु तथा सेवाको मूल्यमा पनि पर्न सक्ने विश्लेषण गरिएको छ।

अमेरिकी सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ। मंगलबार डाउ जोन्स औद्योगिक औसत ५४ हजार अंकभन्दा माथि पुगेर नयाँ कीर्तिमानमा बन्द भएको रिपोर्ट गरिएको छ। यद्यपि, होर्मुजसम्बन्धी सम्झौता असफल भए तेल तथा वित्तीय बजारमा पुनः अस्थिरता आउन सक्ने जोखिम भने कायम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै