सुनसरी सामान्य बन्दै, मृतकहरुको दाहसंस्कारको तयारी
सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक घटनाको छैठौं दिन जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । गृहमन्त्री सुधन गुरुङले घटनास्थल देवानगञ्ज गएर मृतकका परिवारलगायत स्थानीय सरोकारवाला पक्षलाई भेटघाट र छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग ६ बुँदे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति भएको छ ।
अहिले जिल्लाको शान्ति सुरक्षाको अबस्थामा सुधार आएको छ । साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरुङबिच आज बिहान ६ बुँदे सम्झौता भएपछि जिल्लाको सुरक्षा अबस्था सुदृढ भएको छ । सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ । साथै मृतकको परिवारलाई नेपाल सरकारको तर्फबाट जनही १० लाख रुपियाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ ।
घटनाको निष्पक्ष, प्रभावकारी र तथ्यपरक छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ । त्यसैगरी, घटनासँग जोडिएको देवानगञ्ज –३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री गुरुङका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो ।
यस्तै, प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय सम्झौतामा समावेश छ ।
सार्वजनिक गरिएको सम्झौतापत्रमा उल्लिखित बुँदाहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता जनाइएको छ । सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
देवानगञ्ज घटनापछि पीडित परिवारसँगको औपचारिक सहमतिले न्यायिक प्रक्रिया अघि बढाउन, पीडितलाई राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रमा सामाजिक सद्भाव र विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण आधार तयार भएको अपेक्षा गरिएको छ ।
घटनास्थलमा गृहमन्त्री गुरुङसहितको टोलीको उपस्थित भइ पीडित पक्ष र आन्दोलनरत पक्षका अगुवासहित स्थानीय जनप्रतिनिधि लगायतसँग भेटघाट, छलफल र दुई पक्षीय सम्झौता भएपछि देवानगञ्ज क्षेत्रमा पीडित परिवार, स्थानीय सर्वसाधारण र आन्दोलनरत पक्षले अहिले शवयात्रा र दाहसंस्कार गर्ने तयारीमा छन् ।
देवानगञ्जमा सहमति भएपछि जिल्लाको अन्य प्रभावित क्षेत्रमा पनि सुरक्षा व्यवस्था सुदृढ बनाउँदै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न सरोकारवालाबिचको निरन्तर समन्वयका कारण प्रभावित क्षेत्रमा शान्ति र सद्भाव पुनःस्थापित हुने वातावरण बन्दै गएको छ ।
स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कफ्र्यु आदेशलाई शुक्रबार पनि निरन्तरता दिँदै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाएको छ ।
स्थानीय प्रशासनले देवानगञ्ज, हरिनगर, घुस्की, कप्तानगञ्ज, लौकही, भण्टाबारीलगायत संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै कफ्र्यु आदेशलाई निरन्तरता दिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्याल तथा प्रमुख सचिव कार्कीको सक्रिय समन्वयकै क्रममा जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय बैठकबाट शान्ति, सामाजिक सद्भाव, कानुनी शासनको पालना तथा अफवाह नियन्त्रण लगायत विषय समेटिएको सहमति भएको थियो ।