भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरका दुई ऐतिहासिक महाविहारको उद्घाटन – Nepalboli

भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरका दुई ऐतिहासिक महाविहारको उद्घाटन

   २०८३ श्रावण १२, मंगलवार  

काठमाडौं, साउन १२। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत पुनःनिर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आज संयुक्त रूपमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सहभागिता रहेको थियो ।  कार्यक्रममा पुनःस्थापित सांस्कृतिक सम्पदाको अनावरणसँगै परम्परागत धार्मिक तथा सांस्कृतिक विधि पनि सम्पन्न गरिएको थियो।

भारत सरकारको करिब नेरु १२ करोड बराबरको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको यी दुई महाविहारको कार्यान्वयन नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले गरेको हो। परियोजनाको डिजाइन तथा व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो।

कार्यक्रममा बोल्दै सांसद जगदीश खरेलले स्थानीय समुदायको सक्रियता र प्राचीन जीवित सम्पदाको संरक्षणमा भारत सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता सम्पदाको संरक्षणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरसहित देशका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको योगदानको सराहना गर्दै स्थानीय समुदायको भूमिकाको पनि प्रशंसा गरे। भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै ऐतिहासिक सम्पदाको संरक्षणमा भारतको निरन्तर सहयोगले दुई देशबीचको साझा सम्पदा र मित्रतालाई थप मजबुत बनाएको बताए।

भारतीय राजदूतावासका अनुसार भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारले नेपालका ८ जिल्लाका ३० सांस्कृतिक सम्पदा स्थल, गोरखा र नुवाकोटका ५० हजार निजी आवास, ८ जिल्लाका ५८ शैक्षिक संस्था तथा ११ जिल्लाका १३२ स्वास्थ्य संस्थाको पुनर्निर्माणमा सहयोग प्रदान गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै