भारतको सहयोगमा निर्माण गरिएको डोटीको केदार सूर्य बहुमुखी क्याम्पस भवन उद्घाटन – Nepalboli

भारतको सहयोगमा निर्माण गरिएको डोटीको केदार सूर्य बहुमुखी क्याम्पस भवन उद्घाटन

   २०८३ श्रावण ११, सोमबार  

भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित बडीकेदार गाउँपालिकामा निर्माण सम्पन्न भएको केदार सूर्य बहुमुखी क्याम्पस (साविक श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस) को नयाँ भवन उद्घाटन गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद ले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन्।

उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको उक्त दुईतले भवनमा प्रत्येक तलामा सातवटा कक्षाकोठासहित आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गरिएको छ। परियोजना बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल ब्याचलर अफ एजुकेसन (बीएड) र ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) कार्यक्रम सञ्चालन हुँदै आएका छन्। नयाँ भवन सञ्चालनमा आएपछि यस क्षेत्रका विद्यार्थीले थप सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, क्याम्पस व्यवस्थापन समिति तथा अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ पूर्वाधारले स्थानीय उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भारतीय राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६०० वटा परियोजना अघि बढाइएका छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशमा ४७ वटा तथा डोटी जिल्लामा ४ वटा परियोजना रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले डोटी जिल्लालाई ९ वटा एम्बुलेन्स र ३ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। सुदूरपश्चिम प्रदेशभर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई हालसम्म ७८ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको भारतीय राजदूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै