सरकारमार्फत एक वर्षमा ८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा – Nepalboli

सरकारमार्फत एक वर्षमा ८ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

   २०८३ श्रावण १०, आईतवार  

जी-टु-जी श्रम सम्झौताअन्तर्गत गत आर्थिक वर्षमा ८ हजारभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा जी-टु-जी प्रक्रियाबाट कुल ८ हजार १९७ जना रोजगारीका लागि विदेश गएका हुन्। यसमध्ये ६ हजार ९४५ जना पुरुष र १ हजार २५२ जना महिला रहेका छन्।

तथ्यांक अनुसार दक्षिण कोरियामा ७ हजार १०७ जना र इजरायलमा १ हजार ९० जना नेपाली श्रमिक पुगेका छन्। तर, यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ। आर्थिक वर्ष २०८१-८२ मा जी-टु-जी प्रणालीमार्फत १२ हजार ६५३ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। उक्त अवधिमा दक्षिण कोरिया जानेको संख्या १२ हजार १४ जना र इजरायल जानेको संख्या ६३९ जना रहेको थियो।

नेपालले दक्षिण कोरियामा सन् २००७ देखि रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत श्रमिक पठाउँदै आएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीलाई सरकारी संयन्त्रमार्फत रोजगारीका लागि दक्षिण कोरिया पठाउने व्यवस्था रहेको छ।

त्यस्तै, सन् २०२० मा भएको श्रम सम्झौतापछि नेपालबाट इजरायलमा विशेष गरी केयरगिभरका रूपमा श्रमिक पठाउने गरिएको छ।

विभागको विवरणअनुसार पछिल्ला चार आर्थिक वर्षमा जी-टु-जी माध्यमबाट ५४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। आर्थिक वर्ष २०७९-८० देखि २०८२-८३ सम्मको अवधिमा कुल ५४ हजार १५७ जना नेपाली यस प्रक्रियाबाट विदेश गएको तथ्यांक छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै