भारतीय दूतावासको ‘कनेक्ट विथ द इन्डियन एम्बेसी’ कार्यक्रममा काठमाडौंका पाँच विद्यालयका ५० विद्यार्थी सहभागी
काठमाडौं । नेपालस्थित भारतीय दूतावासले ‘कनेक्ट विथ द इन्डियन एम्बेसी’ कार्यक्रमअन्तर्गत काठमाडौंका पाँच विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई दूतावास भ्रमण गराएको छ। कार्यक्रममा डीएभी स्कूल , मोडर्न इन्डियन स्कूल, द चाँदबाग स्कूल, आलोक विद्याश्रम तथा राई स्कूलका विद्यार्थी सहभागी भएका थिए।
भ्रमणका क्रममा विद्यार्थीहरूले भारतीय दूतावासका विभिन्न शाखा तथा नेपालस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को गतिविधिबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए। यस अवसरले उनीहरूलाई दूतावासको कार्यप्रणाली र कूटनीतिक गतिविधिबारे नजिकबाट बुझ्ने अवसर प्रदान गरेको दूतावासले जनाएको छ।
कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका उपप्रमुखले भारत–नेपाल सम्बन्धका विविध पक्षबारे जानकारी गराएका थिए। त्यसपछि विद्यार्थीहरूले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग अन्तरक्रियात्मक छलफल गर्ने अवसर पनि प्राप्त गरेका थिए।
भारतीय दूतावासका अनुसार यस कार्यक्रमको उद्देश्य युवा पुस्तालाई नेपालस्थित भारतीय दूतावासको कार्यप्रणालीबारे प्रत्यक्ष जानकारी गराउनुका साथै भारत–नेपाल सम्बन्धप्रति उनीहरूको बुझाइ अभिवृद्धि गर्नु हो।
दूतावासले आगामी दिनमा पनि नेपालका विभिन्न विद्यालयका विद्यार्थीलाई समेट्दै यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
