कोलकत्ता–विराटनगर रेल सेवा- उद्योगी र व्यापारी हर्षित
विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकत्ताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएसगै तेस्रो मुलुकबाट आयात हुने सामाग्रीको ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाली उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उहाँहरुको भनाइ छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभइ समय पनि ठूलो बचत हुने बताए। उहाँले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए। कोलकत्ताबाट ३५० किलो मिटरको दूरी पार गर्दै आएको कार्गो रेल गत आइवार विराटनगरस्थित वन्दरगाहमा आइपुगेको थियो।
रेलमा ल्याइएको सामान उताररे उक्त सेवाको शुभारम्म गरिएको घोषणा भने हिजो मंगलबार गरिएको हो। अध्यक्ष राठीले रेल सञ्चालनमा आएपछि बन्दरगाहमा लाग्ने विलम्बलगायतका शुल्क घट्ने हुँदा नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने विश्वास व्यक्त गरे।
आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ। पछिल्लो समय कार्गो रेलका लागि विराटनगरमै कार्यालय खोलेर कन्टेनर समेत उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीको वर्षौंदेखिको सपना पछिल्लो प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ। नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग गर्दैआएको थियो।
दुवै देशका सरकारले त्यस सम्बन्धि नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ। सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगीरव्यापारीलाई लाभदायक हुने बताए। सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारी आवाज र प्रयासलाई मूर्तरुप दिएको भनी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे।