देशब्यापी भारी वर्षाले देशभरिको डेढ दर्जन स्थानमा राजमार्ग अवरुद्ध
काठमाडौं । बाढी र पहिरोका कारण देशभरि डेढ दर्जनभन्दा बढी स्थानमा राजमार्ग अवरुद्ध भएको छ । साँझ ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले यसबारे जानकारी गराएको हो । प्रहरीका अनुसार कान्ति लोकपथ सडकखण्डको बागमती गाँउपालिका–३ भट्टेडाँडास्थित पाङ्दुर र टाकुर्चे भन्ने स्थानमा सडक बन्द छ । सोही राजमार्गको भालु खोला भन्ने स्थानमा समेत राजमार्ग पहिरोले बन्द भएको छ ।
मध्यपहाडी लोकमार्गको भोजपुर नगरपालिका–५ बोखिममा राजमार्ग एकीतर्फी सुरु भएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवालीमा समेत यातायात पूर्ण बन्द छ ।
मध्य पहाडी राजमार्गको पाँचथर याङवरक गाउँपालिका–१, २ र ३ मा समेत यातायात पूर्ण बन्द छ । बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा समेत यातायात बन्द भएको छ । कान्ति लोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्ड समेत बन्द रहेको प्रहरीले जनाएको छ ।
हेटांैडा–काठमाडौं खण्डको हेटौंडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । कान्तिलोक पथको भीमफेदी–८ भर्याङडाँडामा समेत यातायात बन्द छ । फाखेल–कुलेखानी खण्ड समेत बन्द भएको प्रहरीले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत कोदारी राजमार्ग एकतर्फी खुला छ ।
गण्डकी प्रदेश अन्तर्गत पोखरा ताङतिङ भित्री सडकमा पहिरोले यातायात बन्द भएको प्रहरीले जनाएको छ । नयाँ पुल घान्द्रुक खण्ड एकर्फी खुला भएको छ । लुम्बिनीमा अर्घाखाँची सालझण्डी–ढोरपाटन सडक खण्डको पाणिनि–२ ढुंङ्ग्रेखोलामा यातायात बन्द छ ।
त्यस्तै मदन भण्डारी राजमार्गको गुल्मी छत्रकोट–३ काउलेमा पहिरोले यातायात बन्द भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत राक्सेमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । कर्णाली करिडोरको हुम्ला, खार्पुनाथ–५ बिसौनी र कालिकोटको शुभकालिका गापामा समेत यातायात अवरुद्ध छ ।