काठमाडौंसहित देशभर भारी वर्षा – Nepalboli

काठमाडौंसहित देशभर भारी वर्षा

   २०८३ असार २९, सोमबार  

काठमाडौं उपत्यकासहित देशभर भइरहेको वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् दैनिक जनजीवनमा असर पर्न सक्ने भनी सावधानी अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले निरन्तर वर्षा भएका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव, भूक्षयजस्ता प्रकोपको सम्भावना रहेकाले यसबाट बच्न सतर्कता अप्नाउन आग्रह गरेको छ ।

आज सोमबार राति कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पर्सी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सतर्कता अपनाउन विभागको आग्रह
लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ। केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ । विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ ।

विभागले नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न अनुरोध गरेको छ ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्व सावधानी अपनाउन विभागले अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै