कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बिच टी-२० शृङ्खला तय
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बिच तीन वटा खेलको टी–२० क्रिकेट शृङ्खला आयोजना हुने भएको छ। क्यानका सचिव पारस खड्काले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै खेल हुन लागेको जानकारी गराउनु भएको हो । उक्त शृङ्खला आगामी सन् २०२६ डिसेम्बर ९, ११ र १३ मा सञ्चालन हुने तय भएको हो।
स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित साइकियाबिच भएको बैठकले उक्त टी–२० शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो।
क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार सन् २०२६ डिसेम्बर ९ मा नेपाल र भारत ‘ए’ बिच पहिलो टी–२० खेल हुने छ। यसैगरी डिसेम्बर ११ मा दोस्रो र डिसेम्बर १३ मा तेस्रो तथा अन्तिम टी–२० खेल हुने छ।