भारत सरकारको सहयोगमा पुनर्स्थापित ललितपुरको जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण – Nepalboli

भारत सरकारको सहयोगमा पुनर्स्थापित ललितपुरको जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण

   २०८३ असार १९, शुक्रबार  

ललितपुर- भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक जेष्ठ वर्ण महाविहारलाई प्राप्त सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गत ‘अवार्ड अफ मेरिट’ को धातुपट्टिका र आधिकारिक प्रमाणपत्र बिहीबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको छ।

महाविहार परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि श्री याको दु तोईले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तथा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई पुरस्कार हस्तान्तरण गर्नुभयो। कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको उपस्थिति रहेको थियो।

जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत करिब नेरु १३ करोड ७८ लाख लागतमा सम्पन्न गरिएको हो। परियोजनाको प्राविधिक व्यवस्थापनका लागि भारत सरकारले इन्ट्याकलाई परियोजना व्यवस्थापन परामर्शदाताका रूपमा नियुक्त गरेको थियो। इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई तथा स्थानीय समुदायसँग समन्वय गर्दै संरक्षण कार्य सम्पन्न गरेको थियो। यस परियोजनाको उद्घाटन २०८० चैत ९ गते भारतीय राजदूत नवीन श्रीवास्तव र तत्कालीन शहरी विकासमन्त्री धनबहादुर बुढाले संयुक्त रूपमा गर्नुभएको थियो।

युनेस्कोले यस परियोजनालाई समुदाय–केन्द्रित संरक्षणको उत्कृष्ट नमुना मान्दै ऐतिहासिक नेवारी काष्ठकला र परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षा प्रविधिको सफल समायोजन गरेको भन्दै सम्मानित गरेको हो। साथै संरक्षण अवधिभर नेवार बौद्ध समुदायका धार्मिक तथा सांस्कृतिक गतिविधि अवरोधबिना निरन्तर सञ्चालन हुन सकेको विषयलाई पनि युनेस्कोले विशेष रूपमा प्रशंसा गरेको छ।

२०७२ सालको गोरखा भूकम्पपछि नेपाल पुनर्निर्माणका लागि भारत सरकारले १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता जनाएको थियो। सो सहयोगअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय तथा एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था र १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ। थप १४ विद्यालय, ११ स्वास्थ्य संस्था र १३ सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण कार्य विभिन्न चरणमा रहेको जनाइएको छ।

भारत सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लामा रहेका ३० वटा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ। यसअन्तर्गत काठमाडौंको सेतो मच्छिन्द्रनाथ मन्दिर, ललितपुरको कुमारी घर र जेष्ठ वर्ण महाविहार, भक्तपुरको जंगम मठ तथा सिन्धुपाल्चोकको तार्के घ्याङ गुम्बा जस्ता महत्वपूर्ण सम्पदा स्थल समावेश छन्।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा राकेश पाण्डेले परियोजनाको सफलताले नेपाल–भारतबीचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। उहाँले साझा सांस्कृतिक सम्पदाको संरक्षणमा नेपाल सरकार र नेपाली जनतासँग सहकार्यलाई भारत सरकारले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको सहयोगको प्रशंसा गर्दै ललितपुरका अन्य सांस्कृतिक सम्पदा पुनर्स्थापनामा समेत निरन्तर सहयोग प्राप्त भएको उल्लेख गर्नुभयो। उहाँले यस सम्मानका लागि युनेस्कोलाई धन्यवाद दिँदै अवार्ड प्राप्त गर्ने सम्पूर्ण पक्षलाई बधाई व्यक्त गर्नुभयो।
जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार नेपाल–भारत मित्रता तथा स्थानीय समुदायको साझा गौरवको प्रतीक बनेको धारणा राख्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै