जेठमा ६१ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको अनुमति – Nepalboli

जेठमा ६१ हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको अनुमति

   २०८३ असार २, मंगलवार  

काठमाडौँ । चालु वर्षको जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा कुल ६१ हजार ७२ जनाले विदेशमा रोजगारीका लागि अनुमति लिएका हुन् । तीमध्ये ५३ हजार ६ सय ९८ जना पुरुष र ७ हजार ३ सय ७४ जना महिला रहेका छन् ।

विभागको विवरणअनुसार वैशाख महिनाको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको देखिएको छ । वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति लिएका थिए । जेठ महिनामा संस्थागत माध्यमबाट अर्थात् मेनपावर कम्पनीमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यस्तै व्यक्तिगत पहलबाट ११ हजार ५ सय ३ जना र सरकार–सरकारबीचको सम्झौता (जी–टु–जी)  प्रक्रियाबाट ६ सय ५२ जनाले अनुमति लिएका छन् ।

यस अवधिमा विदेशमा कार्यरत रहेर पुनः रोजगारीका लागि जाने २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । साथै, आवश्यक कागजातविहीन अवस्थामा रहेका ९१ जना श्रमिकको स्थिति वैधानिक बनाइएको विभागले जनाएको छ ।

गन्तव्य मुलुकका आधारमा जेठमा सबैभन्दा धेरै नेपाली श्रमिक मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले अनुमति लिएका छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स का लागि ५ हजार ३ सय ९४ जना, कतार का लागि २ हजार ८ सय ८३ जना, साउदी अरेबिया का लागि २ हजार ५ सय ९८ जना र रोमानिया का लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै