मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको निर्णय – Nepalboli

मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको निर्णय

   २०७८ बैशाख २०, सोमबार  

लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अवैधानिक दाबी गर्दै बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारलाई चारदलीय गठबन्धनबाट मात्र नभै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिल समेत गरेका छन् ।

सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशसभाको बहुमत आफूसँग रहेको भन्दै गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा समेत गरे । गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई तत्काल बर्खास्त गर्न समेत माग गरेको छ ।

गठबन्धनले विशेष अधिवेशन आह्वान गरेकै दिन अधिवेशन नै नगरी अन्त्य गर्नु प्रदेश प्रमुखको गैर जिम्मेवारी, पदीय मर्यादा विपरित गरिएको गैरकानुनी र असंवैधानिक कदम भएको आरोप लगाउँदै संघीय सरकार मार्फत उनको बर्खास्तीको माग गरेको हो ।

साथै, गठबन्धनले विमलाकुमारी खत्रीले नेकपा माओवादी केन्द्र रोजिसकेका बेला उनको किर्ते हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउनु गलत भएको बताउँदै विरोध गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले असंवैधानिक, अलोकतान्त्रिक, अराजनीतिक रुपमा बनेका मुख्यमन्त्री पोखरेल र उनको सरकारलाई कुनै मान्यता नदिने बताए । त्यसका लागि चारदलीय गठबन्धन र जनता साथमा रहेको उनले दाबी गरे ।

एमाले सरकार टिकाउन सांसद किनबेच र किर्ते काममा लागेको दाबी गर्दै उनले बहुमत प्रदेशसभा सदस्य आफूसँग भएकाले आफू जनताको मुख्यमन्त्री भएको बताए । ‘विधि प्रक्रिया नियम संविधान कानुन सबै मिचेर बनेको सरकार धेरै दिन टिक्न दिन्नौं, बहुमत प्राप्त हामी छिटै सरकारमा जान्छौं ,’ उनले भने ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले केन्द्रमा केपी ओलीले गरेको असंवैधानिक र अराजनीतिक कदम र शैलीलाई मुख्यमन्त्री शंकर पोखरेलले पछ्याएको बताए । ‘उनको कदमको भण्डाफोर गर्ने र सरकारबाट हटाउन कानुनी, राजनीतिक र संवैधानिक बाटो खोज्ने छौं,’ कानोडियाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै