आज धेरै स्थानमा वर्षा हुदै-पश्चिममा बढी,बिहीबार पनि बदली कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण बुधबार देशका विभिन्न भागमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उपत्यकासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको छ ।
अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिनुभयो । उहाँले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गर्नुभएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले बताउनुभयो । मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको उहाँले बताउनुभएको छ । बिहीबार पनि बदली कायम रहने छ ।