८२ हजार मध्यपूर्वमा रहेका नेपालीले उद्धारका लागि विवरण दर्ता गराए – Nepalboli

८२ हजार मध्यपूर्वमा रहेका नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

   २०८२ चैत्र ६, शुक्रबार  

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अनलाइन प्रणालीमा दर्ता भएकामध्ये सुरुमा करिब छ हजार जनाले आफ असुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्ला दिनमा असुरक्षित महसुस गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपत्कालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “सम्पर्क गर्नेमध्ये अधिकांशले सुरुका दिनमा सुरक्षाको विषयमा जानकारी माग्नुभएको थियो । अहिले अवस्था सामान्य बन्दै गएकाले श्रम स्वीकृतिका विषयमा जानकारी लिनेहरूको सङ्ख्या बढी छ ।”

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य गरिरहेको छ । ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको स्पष्ट पार्नुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत स्वदेश फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार पूर्ण रूपमा सजग रहेको र आवश्यक परेको खण्डमा उद्धारका लागिसमेत तयारी अवस्थामा रहेको मन्त्रालयको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै