उपत्यकासहित देशभर मुसलधारे वर्षा , आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान
काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा शुक्रवार मुसलधारे वर्षा भएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हावाहुरी, चट्याङ र असिनासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण काठमाडौँ उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुङ्गा लगायतका क्षेत्रमा दिउँसै अन्धकार छाएको थियो भने जनजीवन केही समय अस्तव्यस्त बनेको छ । मौसमविद्का अनुसार कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा वागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
महाशाखाले कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै यसअघि नै सतर्कता अपनाउन अनुरोध गरेको थियो । लामो समयदेखिको सुक्खापन र बढ्दो वायुप्रदूषणलाई यो वर्षाले कम गराएको छ । धुलो र तुवाँलो हटेपछि वायुमण्डल सफा देखिएको छ भने हिउँदे बाली र लगाउने तयारीमा रहेका बर्खे बालीका लागि यो वर्षाले राहत पुर्याएको छ ।
वर्षासँगै आएको हावाहुरी र असिनाले कतिपय स्थानमा फलफूल र तरकारी खेतीमा सामान्य क्षति पुर्याएको विवरण समेत प्राप्त भएका छन् । मौसममा आएको यो परिवर्तन अझै केही समय कायम रहने अनुमान गरिएको छ ।
आइतबारसम्म हावाहुरीसहित वर्षा हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो । तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा हिमपात भएको छ ।
शुक्रबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानमा तथा कर्णाली र सुद्रूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ, असिना हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ ।
शनिबार देशको अधिकांश भागमा बादल लाग्ने छ । शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ एवम् हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
आइतबार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । देशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा कोशी र लुमिबनी प्रदेशको तराई भू–भागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।