ग्यास अभाव टार्न आधा सिलिन्डर बिक्री गर्ने निगमको निर्णय – Nepalboli

ग्यास अभाव टार्न आधा सिलिन्डर बिक्री गर्ने निगमको निर्णय

   २०८२ फाल्गुन २८, बिहीबार  

नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको छ । निगमले नियमित रूपमा मागअनुसार नै ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा माग अस्वाभाविक रूपमा बढेको छ ।

मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ । नेपाललाई ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्तिमा समस्या देखिन थालेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।

हालको परिस्थितिलाई दृष्टिगत गरी आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले नयाँ व्यवस्था लागू गरेको हो । आम उपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी मात्र ग्यास भरी बिक्री गरिनेछ ।

यसरी आधा भरिएको सिलिन्डरको मूल्य आधा नै अर्थात् ९५५ रुपैयाँ कायम गरिएको छ । आम उपभोक्ता वर्गलाई सोहीअनुसार ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै