रवी लामीछाने विरुद्धको चुनावी मैदानमा काग्रेसको झण्डा सहित चर्चीत समाजसेवी ‘मीना दिदी’
चितवन- प्रेमले भरिएको दृष्टि, पीडामा ढल्किने हृदय र अन्यायविरुद्ध नडराउने आवाज-यी गुणहरूको समष्टि व्यक्तित्व हुन् मीना कुमारी खरेल। सादा जीवन, उच्च विचार र निरन्तर सेवाको दर्शनलाई व्यवहारमै उतार्दै आएकी खरेल तीन दशकभन्दा बढी समयदेखि चितवनको समाजसेवामा सक्रिय छिन्। महिला, बालबालिका, सीमान्तकृत र आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको जीवन यात्रा अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत संसदसम्म पुग्ने मोडमा आइपुगेको छ।
चितवनको माटोमा हुर्किएर यही समाजका आँसु, पीडा, विभेद र संघर्ष नजिकबाट देखेकी खरेलका लागि समाजसेवा कुनै अभियान वा राजनीतिक उचाइको भर्याङ थिएन।
यो त जीवनकै साधना बन्यो। घरेलु हिंसाबाट पीडित महिला, मानव बेचबिखनमा परेका किशोरी, सडकमा अलपत्र बालबालिका र न्याय नपाएका नागरिक—यी सबैका लागि उनी ‘नेता’भन्दा पहिले ‘दिदी’ बनिन्। फोटो र नाराभन्दा हात समाएर, आँसु पुछेर र आत्मसम्मान फर्काएर सेवा गरेकी उनी चितवनमा नाम होइन, अनुभूति बनेर चिनिन्छिन् – ‘मीना दिदी’। जो अहिले चितवन क्षेत्र नम्बर दुुईमा रास्पा सभापति रवी लामीछानेलाई नेपाली काग्रेसवाट कडा काउन्टर दिदै चुुनावी मैदानमा उत्रिएकी छिन ।
विद्यार्थी राजनीतिदेखि जनप्रतिनिधिसम्म
मीना खरेलको राजनीतिक चेतना विद्यार्थी जीवनमै विकसित भएको हो। नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उनी २०४२ सालको सत्याग्रहपछिको विद्यार्थी आन्दोलनमा सक्रिय भइन्। विद्यार्थी शुल्क वृद्धि र शैक्षिक अन्यायविरुद्ध आवाज उठाउँदा नेपाल माध्यमिक विद्यालयमा भाषण गर्ने क्रममा उनी पक्राउसमेत परेकी थिइन्।
त्यसपछि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको जिल्ला तहका विभिन्न जिम्मेवारी निर्वाह गर्दै उनी नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य भइन्। २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर वडा नम्बर ५ बाट महिला वडा सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रूपमा काम गरिन्। हाल उनी नेपाली कांग्रेस चितवनको जिल्ला महासमिति सदस्यको जिम्मेवारीमा छिन्।
संस्थागत समाजसेवाको दीर्घ यात्रा
२०४९ सालमा आदर्श नारी विकास केन्द्रको संस्थापक सचिव बनेसँगै खरेलको औपचारिक समाजसेवा यात्रा सुरु भयो। त्यतिबेला चितवनमा महिला संस्था अत्यन्तै सीमित थिए। महिलामाथि हुने दमन, शोषण, विभेद, घरेलु हिंसा र सामाजिक बहिष्करणविरुद्ध स्वयं महिलालाई संगठित गर्दै सशक्त बनाउने उद्देश्यका साथ उनले संस्थागत प्रयास अघि बढाइन्।
२०५२ सालमा महिला लघु ऋण परियोजनामार्फत ६ सयभन्दा बढी कमजोर आर्थिक अवस्था भएका महिलालाई समूहमा आबद्ध गराई बचत, आयआर्जन र आत्मनिर्भरतातर्फ उन्मुख गराइयो। महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म सामाजिक मुक्ति सम्भव हुँदैन भन्ने ठोस बुझाइका साथ २०५५ सालमा आदर्श बचत तथा ऋण सहकारी संस्था स्थापना गरियो। आज यो सहकारी महिलाको नेतृत्वमै सञ्चालन हुँदै सयौँ परिवारको जीविकोपार्जनको आधार बनेको छ।
स्वास्थ्य, पुनर्स्थापना र संरक्षणमा केन्द्रित अभियान
२०६१ सालमा खरेलको पहलमा आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्र स्थापना भयो। यहाँ महिला स्वास्थ्य, क्षयरोग नियन्त्रण, प्रजनन स्वास्थ्य तथा पछि सुरक्षित गर्भपतनसम्बन्धी सेवासमेत उपलब्ध गराइयो, जसले अनियोजित गर्भका कारण हुने जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ।
त्यही वर्ष सडक बालबालिकाको जोखिमपूर्ण जीवनप्रति ध्यान दिँदै ‘हाम्रो घर’ नामक सडक बालबालिका पुनर्स्थापना केन्द्र स्थापना गरियो। हालसम्म करिब ६० जना बालबालिकाको संरक्षण, शिक्षा र पारिवारिक पुनर्मिलन गराइसकिएको छ भने केही बालबालिका आज आत्मनिर्भर नागरिकका रूपमा स्थापित भएका छन्।
२०६६ साल वैशाख १ गते घरेलु हिंसा, लैङ्गिक हिंसा र मानव बेचबिखनबाट प्रभावित महिला तथा उनीहरूका आश्रित बालबालिकाका लागि असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’ स्थापना गरियो। उद्धार, मनोसामाजिक परामर्श, कानुनी सहायता, सीप विकास, आयआर्जन र पारिवारिक वा सामाजिक पुनर्मिलनमार्फत हालसम्म १,१८३ भन्दा बढी महिला तथा बालबालिकालाई पुनःस्थापित गराइसकिएको छ। हाल पनि दर्जनौँ महिला तथा बालबालिका संस्थाको संरक्षणमा छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान
मीना खरेलको काम स्थानीय सीमामा सीमित रहेन। महिला तथा बालबालिकाको अधिकार र संरक्षणमा पुर्याएको योगदानका कारण उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिइन्।
कोरियाबाट अन्तर्राष्ट्रिय पिस अवार्ड, नेदरल्याण्डको दिदी फाउन्डेसन अवार्ड, अस्ट्रेलियाको चितवन समाज भिक्टोरिया सम्मान सहित नेपाल सरकार, प्रधानमन्त्री, महिला तथा बालबालिका मन्त्रालय, प्रहरी प्रधान कार्यालय र विभिन्न प्रतिष्ठानबाट दर्जनौँ सम्मान तथा प्रशंसा प्राप्त छन्। मानव बेचबिखन नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, सामुदायिक मेलमिलाप र महिला नेतृत्व विकासमा योगदानका कारण उनी देशका ६० भन्दा बढी जिल्लामा सामाजिक अभियन्ताका रूपमा परिचित छिन्।
संसदमा पुगेर सेवा संस्थागत गर्ने अठोट
चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी उम्मेदवार खरेल भन्छिन्, “मैले चितवनको समाजका लागि गरेको काम यहाँका नागरिकले नजिकबाट देख्नुभएको छ। अब त्यो अनुभव संसदमा पुर्याएर नीति र कानुनमा रूपान्तरण गर्न चाहन्छु।”
उनका अनुसार जनतामुखी विकास, महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्याय, मानव बेचबिखन नियन्त्रण, स्थानीय तहसँग प्रभावकारी समन्वय र सेवामूलक राज्य संरचना उनका मुख्य एजेन्डा हुन्। “वाचा गर्नुपर्दैन, इतिहास छ। मैले राजनीति सिकेकी होइन, जीवनबाट राजनीति बुझेकी हुँ,” खरेल भन्छिन्।
दुई सोचको प्रतिस्पर्धा
चितवन–२ मा खरेलको उम्मेदवारीलाई विश्लेषकहरूले दुई फरक राजनीतिक सोचबीचको प्रतिस्पर्धाका रूपमा हेरेका छन्- एकातिर प्रचारमुखी, व्यक्तिकेन्द्रित र भाषणप्रधान राजनीति, अर्कोतिर तीन दशकको मौन तर प्रभावकारी समाजसेवा। चर्चित प्रतिस्पर्धीबीच पनि खरेल जनअनुभूति, विश्वास र निरन्तरताको शक्तिलाई आफ्नो मुख्य आधार मान्दै अघि बढिरहेकी छन्।
तीन दशकदेखि समाजसेवामा अनवरत मीना खरेलका लागि यो निर्वाचन पदको दौड मात्र होइन, समाजका पीडा संसदसम्म पुर्याउने यात्राको अर्को, निर्णायक चरण हो।