रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
रौतहट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट चार वर्षीय बालिकाको ज्यान गएको छ । क्षेत्र नं २ अन्तर्गत इशनाथ नगरपालिका–४, मठिया टोल स्थित मस्जिद नजिकै खेल्दै गरेको मोहमद सगिरको चार वर्षीय छोरी अल्फा खातुनलाई बा १५ च ४२४४ नं को कारले बिहीबार दिउँसो २ः ३० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
कारको ठक्करबाट घाइते बालिकालाई उपचारको लागि चालकले सिटी अस्पताल गौरमा पुर्याई फरार भएको उहाँले जानकारी दिनुभयो । घाईते बालिकालाई थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाइएकोमा उपचारको क्रममा २ः४५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कारले ठक्कर दिएको समयमा आफू मठिया टोलमै घरदैलोमा रहेको र कारमा चालक् मात्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आलमले दावी गर्नु भएको छ ।
चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।