आदिवासी ज्ञान सम्मेलनः जीवन संस्कृतिबारे संवाद हुने
आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र ऐतिहासिक संस्कृति विशाल छ । त्यसबारे यथोचित अनुसन्धान हुन नसकिरहेको बेला आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अनुसन्धानमा युवालाई उत्प्रेरित गर्नेगरी तीन दिने ज्ञान सम्मेलन सुरु गर्दैछ ।
‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ नारासाथ सुरु हुन गइरहेको ज्ञान सम्मेलनमा नेपाल र भारतका गरी करिब ८१ अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । आदिवासीको परम्परागत ज्ञान, आदिवासीको रहनसहन, भाषा भेषभुषा, प्रथाजनित संस्कार र संस्कृति, आदिवासीको खाना, जडिबुटी, जीवन पद्धति, हस्तकला ज्ञान, धर्म संस्कृति, उपचार पद्धतिमा केन्द्रित भएर कार्यपत्र प्रस्तुत हुने प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलन गरी ज्ञान सम्मेलनबारेमा जानकारी गराएको हो । आदिवासीको विषयमा केन्द्रित भएर यो पहिलो पटक औपचारिक सम्मेलन हुन लागेको हो । सम्मेलनको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने उहाँले बताउनुभयो ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा औपचारिक उदघाटन हुने सम्मेलनका लागि पाँच विभिन्न सेसनमा कार्यपत्रहरु प्रस्तुत हुने छन् । त्यसमा मिहीन ढङ्गले छलफल गरी आदिवासी ज्ञान, सीप, हस्तकला, आदिवासी जीवन पद्धति बारेमा निचोडमा पुगिने उपाध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुनका अनुसार पहिलो दिन उदघाटन सत्र भएपछि पहिलो दिनबाटै प्रदर्शनी मार्गमा थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायको खानाका परिकार प्रदर्शन गरिने छ । आदिवासी समुदायको जीवन्त स्वादको अनुभूति पाहुनाहरूलाई गराउने तयारी भएको उहाँको भनाइ छ । नेपाल र भारतका गरी सम्मेलनमा करिब ८०० जना सक्रिय सहभागी हुने सदस्य सचिव पुनले बताउनुभयो । सम्मेलनको दोस्रो दिन चार वटा विभिन्न शीर्षकमा प्यानल डिस्कसन गराइने छ । छलफलको मुख्य विषयमा स्वायत्तता, प्रथाजनित स्वशासन, सम्पदा संरक्षण र स्थानीय सरकार, सामाजिक विविधता, सङ्घीयता र समावेशी लोकतन्त्र, जेनजी पुस्ताको आन्दोलन र समसामयिक राजनीति, भूमि, प्राकृतिक स्रोत र खाद्य सम्प्रभुताका विषयमा प्यानल डिस्कसन केन्द्रित हुनेछ ।