भारत सरकारद्वारा निर्वाचनका लागि २२० सवारी साधनहरू हस्तान्तरण
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई २२० सवारी साधनहरूको साथै अन्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबिच भारत सरकारले दङ्गा नियन्त्रण उपकरणहरुको साथै विभिन्न २२० सवारी साधनहरू समेत हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे । जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ ।
अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ । उनले भने, ‘नेपाललाई संकट पर्दा भारत सधैं पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।’
नेपाल र भारतबिचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये २८० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए । भारत सरकारले निर्वाचनका लागी नेपाललाई अनुदानमा ६५० सवारी साधन सहित अन्य सहयोगहरु प्रदान गर्ने जनाएको छ ।

