देश सम्हाल्ने तागत कांग्रेससँग छ- सभापति थापा – Nepalboli

देश सम्हाल्ने तागत कांग्रेससँग छ- सभापति थापा

   २०८२ माघ १३, मंगलवार  

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ। मङ्गलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको बताउनुभएको हो। “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दै छौँ,” थापाले भन्नुभयो, “फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।”

अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ। चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उहाँले आरोप लगाउनुभयो।

पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ। “हामी फागुन २१ को चुनावसँग जोडिएर नयाँ बन्न खोजेको होइन तर पार्टी बदल्नुपर्छ भनेर कार्यकर्ताले भनेपछि पार्टी बदलेका छौँ,” सभापति थापाले भन्नुभयो, “अहिलेको सन्दर्भमा त बदलिएको कांग्रेस नै नयाँ पार्टी हो। अब यही नयाँ सिराबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन्छ।”

भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ। तीन पटक लगातार जितेको काठमाडौं ४ छाडेर सर्लाही ४ मा आएको विषयमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेको बताउनुभयो।

उहाँले फागुन २१ को निर्वाचनपछि कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो। आफ्नो निर्वाचन क्षेत्रमा सोमबार आइपुग्नुभएका कांग्रेस सभापति थापाले सर्लाही ४ का विभिन्न स्थानमा पुगेर अगुवा नेता, कार्यकर्तासँगको भेटघाट तीव्र पार्नुभएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै