मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी – Nepalboli

मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी

   २०८२ माघ ११, आईतवार  

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा चारै सिट काँग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (नेपाल) बीचको सहकार्यबाट उम्मेदवार बनेकाहरूले हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार विभिन्न समूहबाट चार जना उम्मेदवार राष्ट्रिय सभामा चयन भएका हुन् ।

महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त गरिन् । यस समूहमा प्रतिस्पर्धामा रहेकी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मतभार पाएकी छन् । अल्पसंख्यक समूहमा नेपाली कांग्रेसका रञ्जित कर्णले ८ हजार ९३ मतभारसहित विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मतभार प्राप्त गरे ।

त्यस्तै, अन्य समूहअन्तर्गत जसपा नेपालका नेता महन्थ ठाकुर ७ हजार ७२५ मतभारसहित निर्वाचित भए । यस समूहमा नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार ल्याएका थिए । दलित समूहअन्तर्गत पनि कांग्रेसका धर्मेन्द्र पासवान विजयी बने । उनले ७ हजार ९०४ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभारमा सीमित भए । यससँगै मधेश प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चारै सदस्य गठबन्धनको समर्थनमा चयन भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै