चुनावको तयारी तीव्र- चार सुरक्षा संयन्त्र एकसाथ परिचालन गर्दै निर्वाचन आयोग – Nepalboli

चुनावको तयारी तीव्र- चार सुरक्षा संयन्त्र एकसाथ परिचालन गर्दै निर्वाचन आयोग

   २०८२ माघ ११, आईतवार  

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय परिसरमा स्थापना गरिएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो । निर्वाचन अनुगमन निर्देशिका, २०८२ को दफा ११ बमोजिम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । केन्द्रमा सम्बन्धित निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहने छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयबाट सञ्चालित निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिको विवरण केन्द्रमा प्राप्त हुने र त्यसको विश्लेषणसहित प्रतिवेदन तयार गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको प्रमुख जिम्मेवारी रहने छ । साथै विभिन्न सुरक्षा निकायसँग समन्वय तथा सम्पर्क गरी निर्वाचनसम्बन्धी वस्तुस्थिति मूल्याङ्कन र विश्लेषणसहितको प्रतिवेदन आयोगमा पेश गर्ने कार्य पनि केन्द्रको दायित्वमा पर्नेछ ।

निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित आवश्यक सूचना र विवरण प्रवक्तामार्फत सार्वजनिक गर्न उपलब्ध गराउने, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयसहित अन्य निकायबाट पेश भएका समस्या समाधानका लागि आवश्यक व्यवस्था मिलाउने कार्यसमेत केन्द्रले गर्नेछ । निर्वाचन सुरक्षा तथा निर्वाचनसँग सम्बन्धित घटना–परिघटनाको सङ्कलन, विश्लेषण, रोकथाम र समाधानका लागि उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा सुझाव पेश गर्ने जिम्मेवारी पनि केन्द्रलाई तोकिएको छ ।

यस्तै निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन, विश्लेषण र अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदन तयार गर्ने कार्य पनि केन्द्रबाट गरिने छ । निर्वाचन कार्य सम्पन्न भएपछि केन्द्रले आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै