‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर’ कार्यक्रम काठमाडौमा आयोजना – Nepalboli

‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर’ कार्यक्रम काठमाडौमा आयोजना

   २०८२ मंसिर ५, शुक्रबार  

काठमाडौंस्थित भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा शुक्रवार “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर” नामक कार्यक्रम आयोजना गर्‍यो । यस कार्यक्रमलाई मिति २०८२ फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रिसमिटको रूपमा मान्यता दिइएको छ ।

कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट कारेमा पनि चर्चा भएका थिए । कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए ।

काठमाडौंमा आयोजित यस प्रिसमिट कार्यक्रममा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । वहाँले नेपाल सरकारको एआई सम्बन्धी पहलहरु र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै राजदूत नवीन श्रीवास्तवले भारतको AI for ALL को दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गर्नुभयो । राजदूत श्रीवास्तवले आगामी हुन लागेको एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले हाम्रो जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिनुभयो । वहाँले नेपाली युवाहरूलाई AI for ALL, AI for HER र YUVAi जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन दिनुभयो ।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी श्री अमिताभ नागले AI for ALL को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिनुभयो । वहाँले विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू प्रदर्शन गर्नुभयो । अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक श्री अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराउनुभयो ।

यसपछि एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा सुरेश पोखरेलद्वारा सञ्चालित “लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ” विषयक एक विज्ञमण्डलको छलफल भएको थियो । यस विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव श्री आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा आफ्नो दृष्टिकोण साझा गर्नुभयो । रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताउनुभयो । वृद्धि सञ्जालका संस्थापक श्री शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकको लागि एआई किन एक प्रमुख भाग हुन सक्छ भनेर व्याख्या गर्नुभयो । श्री अमिताभ नाग र श्री अनिर्बान शर्माले पनि भारतको एआई क्षेत्रका अनुभवहरू साझा गर्दै छलफलमा सहभागिता जनाउनुभयो ।

कार्यक्रमको समापन एआई एसोसिएसन अफ नेपालका श्री राम शर्मा भट्टराई र श्री दर्शन पराजुलीद्वारा एआई उपकरण र वास्तुकला सम्बन्धी कार्यशालासँगै भयो । यस कार्यशालामा भारतमा भाषिणी एआईको प्रयोगका औद्योगिक केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री राधिका अर्याल पनि विशेष अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

फेब्रुअरी २०२६ मा आयोजना हुने एआई इम्प्याक्ट समिटमा अन्य कुराका साथसाथै तीनवटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी पनि समावेश हुनेछ जसको लागि https://impact.indiaai.gov.in मा गएर अनलाइन आवेदन दिन सकिनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै