विवादका बिच मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण
सर्वोच्चद्धारा दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न रोक
मधेश केन्द्रित दलहरुको प्रर्दशनका कारण कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित सचिव लालवावु कवारीले पदभार ग्रहण गराउनुभयो ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले मधेश आन्दोलनका शहिदहरुलाई मधेश रत्न सम्मानबाट सुशोभित गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री पदभार ग्रहण गरी रहँदा मधेश भवन बाहिर मधेशवादीसहित सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबिचमा झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । झडको क्रममा एक दर्जन प्रर्दशनकारी धाईते भएका छन ।
यता सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
रकी प्रसाद साह समेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ । रिट निवेदनको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्वको संवैधानिक प्रत्र र छिटो छरितो ढुंगो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाईको लागि मंसिर ११ गते बोलाइएको आदेशमा उल्लेख छ ।
