युवाहरु सोमवार काठमाडौ सहित देशव्यापी विरोध प्रर्दशन गर्दै
युवाहरुको जेनजीको सञ्जालहरुले भोलि सोमवार काठमाडौँसहित देशभर प्रदर्शन गर्ने भएका छन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन् । यस्तै देशका विभिन्न सहरका चोकहरुमा प्रदर्शन गर्ने तयारी रहेको सामाजिक सञ्जालहरुमा पोस्ट भइरहेका छन् ।
ठुला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेन जी पुस्ताको सक्रियतामा प्रदर्शन हुन लागेको हो । देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने उनीहरुको माग हो ।
नेताका छोराछोरीको विलासी जीवनशैली देखाएर युवाले केवल व्यंग्य गरिरहेका छैनन्, सत्तामा बसेकाहरूलाई अब खेलको नियम परिवर्तन हुँदैछ भन्ने सन्देश पनि दिँदैछन् । भ्रष्टाचार र बेतिथिविरुद्ध जेनजीले भोलि गर्न लागेको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने भएको छ।
प्रदर्शनको आयोजिकहरुमध्यको एक आम नेपाली युवाले आइतबार एक सूचना जारी गर्दै काठमाडौँको माइतीघर मण्डलासहित देशभरि एकैसाथ ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ प्रदर्शन हुने बताएको छ।
भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको भन्दै सहभागिता जनाउन पनि आग्रह गरिएको छ। काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरूले अनुमति पनि लिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए।
प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए। छलफलपछि माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम तय भएको सहभागी एक युवाले बताए।
‘हामीले शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने हो। बिहान ९ बजेतिर भेला भएर ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने तयारी छ,’ ती युवाले भने, ‘यसको आयोजक यही हो भनेर छैन। यसमा सानो सानो समूहसमूहमा साथीहरू भेला हुनुभएको छ।’
प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगान, लगायत कार्यक्रम गर्ने योजना रहेको उनले बताए।
बालेन शाहको समर्थन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको जेनजी पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाएका छन्। उनले आफ्नो फेसबुकमार्फत यो र्याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन्।
शाहले आफू उमेर हदबन्दीका कारण र्यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्। उनले लेखेका छन्, ‘भोलीको र्याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु।’
मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै कस्तो देश देख्न चाहनुहुन्छरुु भनी प्रश्न पनि गरेका छन्। उनले यो र्यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।