सामाजिक सञ्जाल प्रतिबन्ध- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको ठहर – Nepalboli

सामाजिक सञ्जाल प्रतिबन्ध- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको ठहर

   २०८२ भाद्र २१, शनिबार  

सरकारले फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत सामाजिक सञ्जालमाथि दर्ता नभएको बहानामा लगाएको प्रतिबन्धप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विरोध जनाएका छन् । उनीहरूले यो कदम नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्‍याउने अलोकतान्त्रिक कार्य भएको ठहर गरेका हुन् ।

उनीहरूले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा व्याख्या गरेका छन् । नेपालको संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको स्मरण गराएका छन् । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्या समाधान गर्न सार्वभौम संसद्बाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कदमलाई कठोर र अलोकतान्त्रिक भनिएको छ ।

यो कदमले लोकतान्त्रिक मूल्यमान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको ठहर छ । सरकारको यस कदमले विदेशमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूको परिवारबिचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा नकारात्मक प्रभाव पर्ने र हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन नसक्ने दोहोर्‍याउँदै सरोकारवालाहरूले सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गरेका छन् । साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि सरकारलाई आह्वान गरिएको छ ।

सरकारले समाजिक सन्जाल बन्द गर्ने निर्णय गरे पछि राष्टिय मानव अधिकार आयोगले समेत त्यस माथी पुर्नविचार गर्न सरकार संग शुक्रवार नै माग गरेको थियो । सरकारको या् कदमको चौतर्फी विरोध भईरह्दा शनिवार युवाहरुको एक समुहले नयां वानेश्वर स्थित संसद भवन अगाडी विरोध प्रर्दशन समेत गरेका छन । प्रहरीले त्याहा वाट पाच जना युवाहरुलाइ नियन्त्रणमा समेत लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै