संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा, रास्वपाको आपत्ति – Nepalboli

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा, रास्वपाको आपत्ति

   २०८२ भाद्र २०, शुक्रबार  

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले) का सांसद महेश बर्तौलाले समर्थन जनाए । खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।

रास्वपाको आपत्ति

स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाएकोप्रति आपत्ति जनाएको छ । रास्वपाले सभामखु देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालन गर्नुपर्ने उल्लेख गरेको हो ।

खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए ।

संसदीय समितिले दोषी देखाएपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए । उनै खतिवडालाई अर्को समितिको सभापति बनाएपछि रास्वपाले आपत्ति जनाएको हो ।

‘जनताको सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनस् संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्त्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसद्‍कै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ,‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनस् उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसद्‍को गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुर्‍याएको अवस्था छ ।’

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै